काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवर्द्धन गरिएको आईएमई जनरल एन्योरेन्स र प्रुडेन्सीयल इन्योरेन्स मर्ज भएर बनेको आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगेश भक्त बादे श्रेष्ठको शैक्षिक प्रमाणपत्रमा कैफियत भेटिएको छ र कैफियत देखिँदादेखिँदै पनि बीमा प्राधिकरणले उनलाई सीईओ पदमा नियुक्तिका लागि अनुमति दिएको पाइएको छ ।
लामो प्रयासपछि बुधबार सीईओ श्रेष्ठ आर्थिक दैनिकको छोटो सम्पर्कमा आएसँगै आर्थिक दैनिकले शैक्षिक प्रमाणपत्रमा कैफियत देखियो, नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक नाम देखियो यो के हो ? भनी गरेको प्रश्नमा उनले हो, त्यस्तो भएको हो भनी स्वीकार गरेका छन् । उनले भने, ‘स्कुलमा एउटा नाम हुन्छ, त्यही नामअनुसार सर्टिफिकेट आयो, नागरिकता पछि बनाइयो, सर्टिफिकेटमा छुटेको नाम थपेर नागरिकता बनाइयो, यस्तो भएको हो तर केही होइन ।‘
सीईओ श्रेष्ठले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक नाम परेको स्वीकारेर फोन राखेपछि बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीसँग सम्पर्क गर्दा उनले यसबारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । यसरी नागरिकता र सर्टिफिकेटमा नाम फरक नहुनु पर्ने हो, त्यस्तो फरक रहेछ भने त्यो छानबिनको विषय बन्न सक्दछ तर पहिला योगेश भक्तको फायल नहेरी केही भन्न नसकिने उनले बताए ।
प्राधिकरणका अर्का अधिकारीका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै नाम भएको व्यक्तिलाई मात्र सीईओ नियुक्तिको सिफारिस गर्न मिल्छ, तर योगेश भक्तको सम्बन्धमा प्राधिकरणले राम्रोसँग फाइल अध्ययन नै नगरी नियुक्तिको अनुमति दिएर गल्ती गरेको बताएका छन् ।
सीईओ श्रेष्ठको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रमा नाम योगेश भक्त श्रेष्ठ रहेको छ तर नागरिकतामा योगेश भक्त बादे श्रेष्ठ रहेको छ । उनको मार्कसिट र नागरिकतामा रहेको फरक–फरक नाम थरको बारेमा प्रस्ट पार्न हाम्रा प्रतिनिधिले सीईओ श्रेष्ठ र उनको नियुक्ति अनुमोदन गर्ने बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीसँग सम्पर्क गरेका थिए ।