काठमाडौं । सम्पत्ति शुद्धीकरणका विषयमा नेपाललाई ससर्त चेतावनी दिइएको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले क्यानडामा भएको बैठकमा नेपाललाई सर्तसहितको चेतावनी दिएको हो ।
नेपालले तत्काल सम्पत्ति शुद्धीकरण, क्यासिनो, सहकारीलगायतका दर्जन कानुनहरू संशोधन गर्ने सर्तमा तत्कालका लागि ‘ग्रे लिस्ट’मा पर्नबाट जोगाउने गरी टास्क फोर्सले उक्त चेतावनी दिएको हो । यो चेतावनीअनुसार तत्कालको लागि नेपाल ग्रे लिस्टको सूचीमा पर्नबाट जोगिए पनि टास्क फोर्सले अबका दिनमा नेपाललाई उच्च निगरानीमा राख्दै सर्तहरूको पालना गरी अवस्थामा सुधार नल्याएसम्म कुनै पनि समयमा ग्रे लिस्टमा पर्नसक्ने जानकारी दिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको नेतृवमा क्यानडा पुगेको नेपाली टोलीले एफएटीएफलाई राजनीतिक अस्थिरताले नेपालले तोकिएको समयमा कानुन निर्माण गर्न नसकेको भन्दै अब तत्काल कानुन निर्माण गर्ने विषयमा विश्वास दिलाएको थियो । गभर्नरसहितको टोलीले दिलाएको सोही विश्वासको आधारमा नेपाल यो पटक केही समयको लागि ‘ग्रे लिस्ट’मा पर्नबाट जोगिएको छ । अब पनि सर्तहरूको पालना नहुने, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माण र त्यसको कार्यान्वयन पक्षमा ढिलासुस्ती हुने हो भने नेपाल ‘ग्रे लिस्ट’मा पर्नसक्ने ठूलो सम्भावना देखिएको छ ।
सोअनुसार आगामी अक्टुबरसम्म नेपालले प्रतिबद्धताअनुसार काम नगरे ‘ग्रे लिस्ट’मा पर्नेछ । फाइनान्सियल टास्क फोर्सले नेपाललाई उच्च निगरानीमा राखेकाले अबको छ महिनाभित्रमा प्रतिबद्धता जनाएका सबै कामहरू गर्नुपर्नेछ ।