काठमाडौं । सरकारले चालू आर्थिक वर्षदेखि हवाई टिकटमा कर लगाउने भएसँगै पर्यटन व्यवसायी (ट्राभल व्यवसायी)हरू समस्यामा पर्ने भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विदेश भ्रमणमा जाने नेपाली पर्यटकले भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरेको थियो ।
सो कार्यान्वयनमा आएसँगै पर्यटन व्यवसायीहरूले आफूहरू समस्यामा पर्ने बताएका छन् । उनीहरूले पर्यटन शुल्क लगाएपछि विदेशी मुलुकमा रहेका ट्राभलमार्फत ई–टिकटिङ गर्ने हुँदा पैसा हुन्डीमार्फत विदेश पुग्ने बताएका छन् । पर्यटन शुल्कले हुन्डीमार्फत विदेशबाट ई–टिकटङ गर्ने नेपालीको संख्या बढ्ने तथा यसले सरकारलाई नै घाटा हुने एक व्यवसायीले बताए ।
यसैबीच आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८०को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख गरिएको छ । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।
‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ ।’
यस्तो शुल्क प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन् । प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुनआउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था कार्यविधिमार्फत गरिएको छ । यस्तै शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिको हकमा अलग्गै दर्ता गर्न नपर्ने व्यवस्था गरिएको छ ।
विदेशीले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेश भ्रमणामा गर्ने खर्च धेरै रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणका लागि नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन् । सोही अवधिमा विदेशी पर्यटकमार्फत कुल ५८ अर्ब छ करोड रुपैयाँ आम्दानी भएको छ । विदेश भ्रमण जाने मात्र नभई विदेश पढ्न जाने विद्यार्थीले समेत अर्बौँ रकम बाहिर लिएर जाने गरेका छन् ।