काठमाडौं । गत आर्थिक वर्ष २०७९/८०को जेठ मसान्तसम्म (११ महिना)मा वाणिज्य बैंकहरूले ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २१ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको ११ महिनामा कुल ६७ अर्ब २३ करोड १५ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरूले कमाएको यो नाफा आर्थिक वर्ष २०७८/७९को ११ महिनाको तुलनामा एक अर्ब रुपैयाँले बढी हो । उक्त अवधिमा बैंकहरूको यस्तो नाफा ६६ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्म वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भए पनि वाणिज्य बैंकहरूमा उच्च दरको नाफा देखिएको हो । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । नबिल बैंकले २०७९ साउन देखि २०८० जेठ मसान्तसम्म कुल सात अर्ब ११ करोड ३५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ र नबिलपछि धेरै नाफा कमाउने बैंक ग्लोबल आईएमई बैंक बनेको छ ।
ग्लोबल आईमएईले छ अर्ब ५० करोड ६३ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छ अर्ब ५० करोड ६३ लाख १० हजार रुपैयाँ कमाएको छ । एनआईसी एसिया बैंकले चार अर्ब ६३ करोड १० लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । सबैभन्दा धेरै नाफा कमाउने बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो र एनआईसी एसिया चौथो स्थानमा छन् ।
बढी नाफा कमाउने पाँचौँ ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंक बनेको छ । राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ४७ करोड ३४ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसपछि धेरै नाफा कमाउनेमा क्रमशः एनएमबी बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंक छन् । एनएमबी बैंकले तीन अर्ब ३२ करोड ७२ लाख रुपैयाँ कमाएको छ । यस्तै हिमायलन बैंकले तीन अर्ब २९ करोड ८९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले तीन अर्ब २१ करोड ६४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ११ करोड ३९ लाख रुपैयाँ र नेपाल बैंकले तीन अर्ब सात करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
एभरेष्ट बैंक र कुमारी बैंकले क्रमशः तीन अर्ब छ करोड ६२ लाख रुपैयाँ र दुई अर्ब ९५ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी प्रभु बैंकले दुई अर्ब ८९ करोड ५२ लाख रुपैयाँ, सानिमा बैंकले दुई अर्ब २५ करोड ८७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले दुई अर्ब २२ करोड ५७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले दुई अर्ब नौ करोड १७ लाख रुपैयाँ र लक्ष्मी बैंकले एक अर्ब ६८ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुुसार माछापुच्छ्रे बैंकले एक अर्ब ६८ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले एक अर्ब ६८ करोड चार लाख रुपैयाँ र सनराइज बैंकले एक अर्ब ५९ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । सबैभन्दा कम नाफा कमाउने बैंकमा कृषि विकास बैंक छ । कृषि विकास बैंकले ११ महिनामा एक अर्ब ५६ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आर्थिक वर्षमा खराब कर्जा बढ्दा खुद नाफामा पनि प्रभावित भएको बैंकहरूले बताएका छन् । तेस्रो त्रैमासको विवरणअनुसार बैंकहरूको खराब कर्जा तीन प्रतिशत हाराहारी थियो । तर, चौथो त्रैमासमा बैंकहरूले खराब कर्जा घाउन नयाँ ऋण प्रवाहभन्दा पनि असुलीमा जोड दिएकाले नाफामा ठूलो असर नपरेको देखिन्छ । आर्थिक वर्षको अन्तिम महिनामा खराब कर्जा नियन्त्रण गर्न सफल भएका बैंकहरूको नाफा अझै बढेर जानसक्ने देखिएको छ ।