काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनबाट कर्जा दिनेगरी नयाँ योजना ल्याएको छ । बैंकका अनुुसार मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को योजनाले बैंकसम्म पुग्नुपर्ने झण्झटलाई कम गर्ने बैंकको विश्वास छ ।
यो कर्जा योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम दुई लाख रूपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ एप वा वेभसाइटमा उपलब्ध विकल्प खोजेर त्यही उल्लेख गरिएअनुसार कर्जाको लागि आवेदन दिन सक्ने बताइएको छ ।
उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि दुई लाख रूपैयाँसम्मको कर्जाका लागि आवश्यक विवरण भर्नुपर्ने छ । यसरी फारम भरेपछि ओटीपी कोड प्राप्त हुनेछ । उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुने बताइएको छ । साथै, यस योजनमार्फत दुई लाख रूपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ ।