काठमाडौं, विवादास्पद सुन व्यवसायी कमल ढकालले आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्की दिएका छन् ।पछिल्लो पटक बिहीबार अपराह्न फोनबाट ढकालले त्यस्तो धम्की दिएका हुन् । यसअघि ढकालले गत असार २९ गते पटक–पटक आर्थिक दैनिकको कार्यालयमा फोन गरेर डीएसपी कर्णको सेटिङमा उठौती धन्दा भन्ने एनआरके फिटनेसको पक्षमा किन समाचार लेखिस्, अब एनआरकेको नवराज कार्कीलाई होइन, तँलाई सिध्याइदिन्छु भनी तथानाम आमाचकारी गाली गरेका थिए । त्यो फोन सुन्न नसकेर जे सक्छस् गर, धम्की दिँदै नहिँड भनेर संस्थापक सम्पादक रिजालले फोन काटिदिएका थिए ।
ढकाल विवादास्पद सुन व्यवसायी हुन् ।
उनले सुकेधारा नीलोपुलमा आक्रिसा गोल्ड प्यालेस एन्ड हयान्डीक््रयाफ्ट प्रालि र धुम्बराही पीपलबोटमा एके गोल्ड ज्वेलर्स नामको सुन पसल सञ्चालन गरेका छन् । असअघि खतिवडासँग साझेदारी गरेर सुन पसल चलाए । साझेदारी गरेर सुन पसल चलाए पनि ढकाल आफूचाहिँ डनगिरी गर्दै आएका छन् ।
पछिल्लो पटक ढकालले रातोपुलमा रहेको एनआरके फिटनेसका सञ्चालक नवराज कार्कीलाई धम्काउँदै आएका थिए । आफूले मात्र फोन नगरी ढकालले विभिन्न व्यक्ति लगाएर कार्कीलाई फोन गराउन लगाएको र धम्काएको कुरा यसै अंकको चौथो पृष्ठमा सुशिल शिवाकोटी र संजोक राणाले पठाएको खण्डन नामको पत्रले समेत पुष्टि गरेको छ । विप्लव माओवादीको जनअदालतमा समेत उजुरी गरेर कार्कीलाई हायलकायल पारेर सिध्याउन नसकेपछि ढकालले आर्थिक दैनिकका संस्थापक सम्पादक रिजाललाई मार्ने धम्की दिन थालेका हुन् ।