काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार ठूलो परिमाणमा भेटिएको सुन तस्करीमा दीपक मल्होत्राको संलग्नता रहेको भन्दै समाचार प्रकाशित भएपछि मल्होत्राले बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गरी आफू कुनै अवैध धन्दामा संलग्न नरहेको बताएका छन् ।
अहिले पनि यो सुन तस्करीबारे अनुसन्धान भइरहेकाले यो कसको हो भन्ने अझै यकिन नभइसकेको राजस्व अनुसन्धान विभागका अधिकारीहरूले बताएका छन् । मल्होत्राको नामै किटेर सरकारले गठन गरेको एउटा छानबिन समितिले उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिवेदन दिएको सो छानबिन समितिका सदस्यहरूले बताएका छन् । मल्होत्राले लामो समयसम्म सुन तस्करी गरेको विभाग र प्रहरीको दाबी छ।
लामो समयदेखि सुनको कारोबार गर्दै आएका मल्होत्राले पैसा र राजनीतिक प्रभावमा विमानस्थलका महत्वपूर्ण संरचनाहरूको समेत ठेक्का पाएपछि उनले सुन तस्करी झनै व्यवस्थित रूपले अघि बढाएको हुन सक्ने भएकाले पनि उनीमाथि छानबिन गर्नुपर्ने बताइएको छ ।