काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा बिहीबारबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार जारी पुँजी एक अर्ब रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । यसरी बिक्री खुला भएको कुल सेयरमध्येमा पाँच लाख ७१ हजार चार सय ३० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी दुई लाख ८५ हजार सात सय २० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि र सो क्षेत्रबाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर बाँडफाँट गरिने बताइएको छ ।
यसबाहेक सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेकाहरूको लागि खुला गरिएको हो ।