काठमाडौं, वैशाख १६
दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि भाटभटेनी सुपरमार्केटलाई नगद जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्थलगत अनुगमन टोलीले टंगालको भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
विभागको टोलीले सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्यसूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि एक लाख जरिवाना गरेको छ ।
लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । अन्य विभिन्न ठाउँका पसलले पनि बढी मूल्य लिएको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । तर, सरकारले सबै पसलका अनुगमन गर्न सकेको छैन । लकडाउनको अवधिमा निश्चित समयमा पसल खुल्ने त्यही मौकामा व्यापारीहरुले उपभोक्ता ठग्ने गरेका छन् ।
बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार थप तीनवटा पसललाई पनि कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारबाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ । भाटभटेनीबाहेक कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरिद गरेको भने पनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।
त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेबापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई ५० हजार जरिवाना गरिएको छ । ती चार पसललाई सोमबार कारबाही गर्दा छ लाख ५० हजार राजस्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।