काठमाडौं । नेपाल पत्रकार महासंघले सुन व्यवसायको आवरणमा गुण्डागर्दी तथा असुली धन्दा गर्दै आएका सुकेधाराका डन कमल ढकाललाई यथाशीघ्र कारबाही गर्न जोडदार माग गरेको छ । आर्थिक दैनिकमा प्रकाशित प्रहरीसँगको सेटिङमा विप्लव माओवादीलाई समेत दुरुपयोग गरेर गुण्डागर्दी र उठौती धन्दाको समाचार छापिएपछि आफूलाई गुण्डाको नाइके बताउने ढकालले गत असार २९ गतेदेखि पटक–पटक फोन गर्दै आएका थिए । र साउन ३ गते एयरपोर्टमा सय किलो तस्करीको सुन बरामद भएपछि अत्तालिएका देखावटी सुन व्यवसायी ढकालले आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई फोनमा ज्यान मार्ने धम्की दिएका थिए ।
ढकालले विगत केही समयदेखि महाराजगञ्ज सुकेधारा ज्ञानेश्वर रातोपुल क्षेत्रमा संगठितरूपमा गुण्डागर्दी र उठौती धन्दा सञ्चालन गर्दै आएका छन् । त्यसका लागि ढकालले मालीगाउँ वृत्तका डीएसपी अनिशकुमार कर्ण, सई मानबहादुर तामाङ र कालोपुल प्रहरी बिटका असई सन्तोष रसाइलीलाई प्रभावमा पारेर उठौतीपुठौतीको धन्दा सञ्चालन गदै आएका छन् । प्रहरीले हेर्न नमिल्ने लेनदेनको मुद्दामा निवेदक खोज्ने र प्रहरीमा लगेर तर्साएर उठौती गरेर भागबन्डा गर्नेगरेको भेटिएपछि आर्थिक दैनिकमा उक्त विषय समाचार बनेको थियो । धादिङ धुनीबेँसीका जनकलाकार सञ्जोग राणाले आर्थिक दैनिकलाई पठाएको खण्डनपत्रमा र रोयल सेकुवा कर्नरमा गत वैशाखको अन्तिमतिर कमल ढकाल, ग्याल्जेन लामा, विक्रम थापा, सुशील शिवाकोटीबीच भएको सरसल्लाहपछि एनआरके फिटनेसविरुद्ध प्रहरी वृत्त मालीगाउँ जाने सहमति भएको स्पष्टरूपमा उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ५ गते शुक्रबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरेर रिजाललाई ज्यान मार्ने धम्की दिने ढकाललाई तत्काल कानुनी दायरामा ल्याउन र संविधानप्रदत्त पे्रस स्वतन्त्रताको प्रत्याभूति गराउन सरकारसँग जोडदार माग गरेका छन् । प्रदेश समितिमा महासचिव टेनिस रोकाले प्रकाशन गरेको प्रेस वक्तव्यमा कानुनलाई नै चुनौती दिँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भनिएको छ । संस्थापक सम्पादक रिजाललाई ज्यान मार्ने धम्की दिने र आतङ्कित पार्ने कार्यमा संलग्नमाथि छानबिन गरी तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमले प्रकाशन गरेको वक्तव्यमा प्रकाशित समाचारको विषयमा चित्त नबुझे कानुनी उपचार खोज्ने निकाय र आधार हुँदाहुँदै देशको संविधान, कानुन र विधिको बर्खिलाप तथा स्वतन्त्र पत्रकारिताको मर्मविपरीत हुनेगरी धम्की दिनुलाई निन्दनीय भन्दै निज ढकाललाई तत्काल कानुनी दायरामा ल्याउन र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउन माग गरिएको छ । ज्ञातव्य के छ भने सुन व्यवसायीको आवरणमा गुण्डागर्दी र उठौती गर्दै आएका ढकालले विप्लव माओवादीको नाम समेत भजाएर धन्दा गर्दै आएका छन् । सुशील सिवाकोटीले ५१ लाख रुपैयाँको कोटेसनमा एनआरके फिटनेसको डिजाइनको काम लिएका थिए र रकम लिए पनि काम पूरा नगरी सम्पर्कविहीन हुँदै आएका सिवाकोटीलाई झण्डै चार वर्षपछि ८१ लाख रुपैयाँ मागदाबी गर्न लगाएर गुण्डाका नाइके कमल ढकालले एनआरकेका नवराज कार्कीलाई संगठितरूपमा धम्क्याउन थालेका थिए र त्यही समाचार दुवै पक्षको कुरा समेटेर आर्थिक दैनिकले प्रकाशन गरेपछि ढकालले संस्थापक सम्पादक रिजाललाई ज्यान मार्ने धम्की दिएका थिए ।