काठमाडौँ । पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले बताएका छन् । चौधरीले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलगाए भविष्यमा विकराल अवस्था आउने बताए ।
उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । ‘जनताले रोजगारी चाहेका छन्,’ उनले भने, ‘कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ ।’
चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताए । ‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्,’ उनले भने।
मुलुकमा रोजगारी सिर्जना हुन नसक्नु अहिलेको गम्भीर चुनौतिको विषय भएको चौधरीले बताए । ‘अहिले पनि दैनिक दुई हजार भन्दा बढि मानिस रोजगारीका लागि विदेशिनु चुनौतिको विषय हो,’ उनले भने ।