काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ६३ दशमलव २४ विन्दुले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा कायम भएको छ ।
मौद्रिक नीतिले सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भनेपछि सेयर लगानीकर्ताले खरिदचाप बढाएका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने भनेको छ । जोखिमभार घट्यो भने सेयर धितो कर्जा सस्तो हुने र ऋण लिएर सेयर कारोबार गर्दा फाइदा हुने लगानीकर्ताहरू बताउँछन् । अहिलेसम्म राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा जोखिमभार एक सय ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सेयर लगानीकर्ताले यस्तो कर्जाको जोखिमभार एक सय प्रतिशतमा झार्न माग गर्दै आएका छन् । बजारमा तीव्र उतारचढाव भएका बेला जोखिम हुने भएकाले यसअघि राष्ट्र बैंकले जोखिमभार बढाइदिएको थियो ।
बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । यसदिन चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँबराबरको एक करोड २० लाख दुई हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति एकैदिन ९३ अर्ब रुपैयाँले बढेको छ । आइतबार बिहान ३१ खर्ब ७९ अर्ब रुपैयाँबराबर रहेको बजार पुँजीकरण कारोबार बन्द हुँदा २३ खर्ब ७२ अर्बमा पुगेको छ ।
कारोबारमा आएका दुई सय १६ कम्पनीको सेयरमध्ये एक सय ९९ वटाको मूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । तर, पनि १६ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
यस दिन १३ उपसमूह नै बढेका छन् । सबैभन्दा धेरै आकर्षण बैंकिङ क्षेत्रमा देखिएको छ । बैंकिङ समूह चार दशमलव ९८ प्रतिशतले बढेको छ भने विकास बैंक समूह चार दशमलव ७८ प्रतिशतले बढेको छ । यसपछि व्यापार समूह चार दशमलव एक प्रतिशत, लगानी तीन दशमलव ४६ प्रतिशत, होटल तथा पर्यटन तीन दशमलव शून्य पाँच प्रतिशत, फाइनान्स एक दशलमव ७१, जलविद्युत् एक दशमलव सात, उत्पादन तथा प्रशोधन एक दशमलव ५५, अन्य एक दशमलव ४३, निर्जीवन बीमा एक दशमलव ३६, लघुवित्त एक दशमलव २१, जीववन बीमा एक दशमलव शून्य ३ र म्युचुअल फन्ड शून्य दशमलव ५५ प्रतिशतले बढेका छन् ।
किसान लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स र लिवर्टी इनर्जी कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । तर, बजार बन्द हुँदा किसान लघुवित्त र चन्द्रागिरी हिल्सको १० प्रतिशत र लिवर्टीको नौ दशमलव ९७ प्रतिशतले मूल्य बढेको छ । बजार बढे पनि यस दिन एनआईबीएल ग्रोथ फन्डको कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । यो फन्डका इकाइधनीले १० प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको भएको छ । त्यसपछि ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।