काठमाडौँ । चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोली आइतबार नेपाल आइपुगेका हुन् । उनीहरुले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ ।
टोलीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने टोलीले भिडिओ वार्ता गरेको छ । देउवा निवासमा दिउँसो साढे २ बजे सभापति देउवासँग भेटवार्ताका लागि समय तय भइसकेको छ ।
अध्यक्ष ओली कम्बोडिया भ्रमणमा रहेको हुँदा उनी सोमबार राती फर्किने भएकोले चिनियाँ टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मङ्गलवार बिहान भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।