काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले क्युआरप्रणालीमा भ्वाइस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत माछापुच्छ्रे बैंकका अन्य केही स्थानबाट यो प्रविधिको सुरुवात गरिएको बैंकले जनाएको छ । यो प्रविधि प्रयोगमा ल्याउने आफू पहिलो बैंक भएको दाबी माछापुच्छ्रे बैंकको छ ।
बैंकका अनुुसार शुक्रबार क्युआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्युआरमर्चेन्टहरूले क्युआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनिमार्फत हुने बैंकले जनाएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ क्युआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ । साथै, भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।