काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बन(ाइएको भवनको काठमाडौं महानगरपालिकाले नक्सापास गरिदिएको खुलेको छ । आर्थिक दैनिकलाई प्राप्त कागजातमा काठमाडौं महानगरपालिका वडा नं २९ धोवीखोला करिडोरमा गीता देवले ९१०.१८ वर्गमिटर क्षेत्रमा निर्माण गरेको घरलाई गैरकानुनीरूपमा काठमाडौं महानगरपालिकाले नक्सापास गरेको, त्यसपछि परेको मुद्दामा काठमाडौं महानगरको सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने जग्गा र घरमा काठमाडौं महानगरले चासो नदिएको पाइएको छ ।
गीता देवले २०५७ सालमा सार्वजनिक जग्गा मिचेर उक्त भवन निर्माण गरेकी थिइन् । सो भवन भत्काउन पटक–पटक माग गर्दै स्थानीयवासीले विरोध गरेका थिए । तर, राजनीतिक पहुँच र काठमाडौं महानगरपालिका २९ नं वडा कार्यालयका वडा अध्यक्ष कुश ढकालले घुस ‘सेटिङ’मा वडा कार्यालयबाट सिफारिस दिएका थिए । यसअघिको कार्यकालमा वडा अध्यक्ष कुश ढकाल आफैँ लागेर उक्त भवनको नक्सापास गरिदिएका थिए ।
२०७५ साल माघ १० गते काठमाडौं महानगरपालिकाबाट नक्सापास भएको सो घरका विरुद्धमा महानगरपालिकाकै न्यायिक समितिमा मुद्दा प-यो । न्यायिक समितिकी संयोजक उपमेयर हरिप्रभा खड्गीको इजलासले २२० नम्बर कित्ताको सो जग्गा नै सार्वजनिक भएकोले नक्सापास भएको घरलाई काठमाडौं महानगरपालिकाको नियन्त्रणमा लिने आदेश भएको थियो ।
२०७८ भदौ २७ गते काठमाडौं महानगरपालिकाको न्यायिक समितिबाट भएको फैसला हालसम्म कार्यान्वयन भएको छैन । सो फैसला कार्यान्वयन नगर्न २९ नम्बर वडाका अध्यक्ष कुश ढकालले नै भूमिका खेलिरहेको स्थानीयवासीको गुनासो छ । न्यायिक समितिका सदस्यहरू बबी परियार, सरोज ढकालसहितको इजलासले विभिन्न पक्षको अध्ययन, मालपोत कार्यालयबाट फिल्डबुक उतार समेत गरी ल्याएको कागजातमा घर बनाउने गीता देवको हकदाबी लाग्ने प्रमाण नभएको बरु उल्टै मालपोतमा उक्त २२० नम्बरको कित्तासहित साबिक ११९ नम्बर कित्ताभित्रको एक रोपनी नौ आना जग्गा नै सार्वजनिक भएको तथ्य फेला परेको भन्ने फैसला गरेको थियो ।
काठमाडौंमा रहेका सबै सार्वजनिक जग्गाहरू, कब्जा गरेर बसेका जग्गाहरू तथा संरचनाहरूमा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काउने अभियान चलाउँदै आएकोमा अनामनगरस्थित धोवीखोला किनाराको सार्वजनिक जग्गामा बनेका २२०, २२१, २२२ र २२६ लगायतका घरहरू कहिले भत्काइन्छ भन्ने स्पष्ट भइसकेको छैन ।