काठमाडौं । सिबी लामाको नेतृत्वमा रहेको पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागका उपरजिष्टार तथा सूचना अधिकारी टोलराज अधिकारीका अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० असार १ गते नै उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।
‘सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको उक्त सहकारीले विसं २०७७ देखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गर्न विभागले मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । विभागले गरेको सोही सिफारिसको आधारमा मन्त्रालयस्तरीय निर्णयबाट उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको जानकारी हामीले पाएका छौँ’, सूचना अधिकारी टोलराजले भने ।
मन्त्रालयले सहकारी ऐनको दफा १०४को उपदफा (१)को खण्ड (क)देखि (च)सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागको सिफारिसमा सोही ऐनको दफा १०४को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको पनि अधिकारीले बताए । मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको जानकारी पाएको सूचना अधिकारी टोलराजले बताए । सोही समितिले नै अब सिबी लामा अध्यक्ष रहेको पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट कति जना बचतकर्ताहरू ठगिएका छन्, उनीहरूको कति रकम उक्त सहकारीमा फसेको छ, सहकारीको सम्पत्ति एवं अन्य चलअचल दायित्व कति छ ? सबै छानबिन गरेर वास्तविक तथ्य सार्वजनिक गर्ने जानकारी पनि उनले दिए । ‘विभाग स्वयम्को हकमा भन्नुपर्दा विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको मात्र हो, के–कति, रकम कहाँ–कहाँ फसेको छ, त्यसको आधिकारिक जानकारी अहिले तत्कालको लागि विभागसँग छैन’, सूचना अधिकारी टोलराजले भने ।
विभागले सहकारीका अध्यक्ष सिबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरेको थियो । तर, आजको दिनसम्म पनि सीआईबीले भने लामालाई पक्राउ वा कारबाही गरेको कुनै पनि किसिमको तथ्य बाहिर आएको छैन । पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमा सर्वसाधारणको झण्डै दुई अर्ब रुपैयाँको हाराहारीमा बचत रकम रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । अध्यक्ष लामाले सहकारीमा जम्मा भएको बचत(कर्ताको ठूलो परिमाणको रकम आफ्नो गोजीको रकम जस्तो गरी आफ्नै स्वामित्वमा रहेका विभिन्न कम्पनी, आफन्तको नाममा घरजग्गामा लगानी गर्दा समस्या उत्पन्न भएको उक्त संस्थाबाट पीडित बनेका ग्राहकहरूले बताएका छन् ।