काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको मंगलबार दशौं स्मृति दिवस मनाइयो । विसं १९८१ कात्तिक १४ गते ललितपुरको झपाटोलमा जन्मिएका संस्थापक सदस्य कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो ।
उनी प्रजातन्त्र सङ्घमा विसं २००५ देखि संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत गएका थिए ।
कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित भएका थिए । राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने देखेपछि उनी अर्को क्रान्तिकारी पार्टी निर्माणका क्रियाशील भए ।
कर्माचार्य पार्टी स्थापनापश्चात मजदुर सङ्गठनको संस्थापक अध्यक्ष भए । उनी २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई पार्टी टुटफुट र विभाजनपश्चात एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए । २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरे । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ ।
मंगलबार दशौँ स्मृति दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र)को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले कर्माचार्यले कम्युनिष्ट पार्टीले सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजानुपर्नेमा जोड दिँदै आएको बताए । “उहाँ (कर्माचार्य) भन्नुहुन्थ्यो, कम्युनिष्ट आन्दोलन दुई ढङ्गले विभाजित हुन्छ, पहिलो सिद्धान्त पकड्ने नाममा जडसूत्र बन्ने र दोस्रो व्यवहारमा जानुपर्छ भनेर सिद्धान्त बिर्सने”, उनले भने, “व्यवहारिक बन्ने क्रममा सिद्धान्त बिर्सने र सिद्धान्तका नाममा जडसूत्र बन्नेलाई मिलाएर लैजानुपर्नेमा उनको जोड रहन्थ्यो ।”
माओवादीका सचिव लीलामणि पोखरेलले कर्माचार्य सधैँ पार्टी एकताको हिमायती रहेको बताए । उनले भने, “कर्माचार्य जहिले पनि पार्टी विभाजनको विपक्षमा रहनुभयो, पार्टीको नीति निर्देशनलाई कडाइका साथ पालना गर्ने, विचारप्रति निष्ठावान् र सधैँ विचारमा अविचलित भइरहनुभयो ।” कार्यक्रममा माओवादी नेता कार्यकर्ताले संस्थापक सदस्य कर्माचार्यको तस्वीरमा माल्यार्पण गरेका थिए ।