जनकपुरधाम । नेपाली कांग्रेस नेतृ डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् ।
मंगलबार नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भएता पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् ।
“कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, “यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो” । उनले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राखिन ।
डा.आरजु राणाले नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको बताइन् । उनले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको पनि बताइन् ।
सो कार्यक्रममा मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंह, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाका साथै पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।