काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० मा झण्डै तीन करोड रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । क्षत्रीयस्तरको विकास बैंकको रूपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले आव २०७९/८० मा दुई करोड ९१ लाख ४२ हजार तीन सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको नाफा ४२ लाख ४८ हजार दुई सय १३ रुपैयाँले ऋणात्मक रहेको थियो ।
चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा ६३ करोड २८ लाख १३ हजार एक सय ४८ रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ७१ लाख ५३ हजार तीन सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड तीन लाख ४१ हजार तीन सय ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा १८ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ३३ करोड ६६ लाख ७२ हजार दुई सय ८९ रुपैयाँ निक्षेप संकलन गरी ४८ करोड १७ लाख ३५ हजार तीन सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ४२ लाख ४८ हजार दुई सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा १४ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १९ प्रतिशत रहेको थियो ।