काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । राष्ट्रिय किताबखानाको महानिर्देशकबाट पाण्डे आइतबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
पाण्डेलाई अर्थमन्त्री डा.प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् । गत पुस १० मा विमानस्थलबाट साढे ९ किलो सुन विद्युतीय चुरोट (भेप) मा राखेर तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल दुइ महिनाको लागि बिरामी बिदामा बसेका थिए । पोखरेल बिदामा बसेकै बेला विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।