काठमाडौं । शान्तिसुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीअन्तर्गतको एक निकायले आर्थिक प्रलोभनमा परेर गम्भीर घटनालाई दबाउने कार्य गरेको खुलेको छ । स्रोतका अनुसार स्वयम्भूस्थित कर्मा स्नुकर क्लबका सञ्चालक श्याम तामाङ र नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला छकडोल बस्ने दिपेश तामाङ, रामकुमार श्रेष्ठसँग सम्बधित कुटपिटको घटनामा महानगरीय प्रहरी वृत्त स्वयम्भूले यस्तो कार्य गरेको हो ।
स्रोतका अनुसार २०८० असार १८ गते राति २ः३० बजे काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूस्थित कर्मा स्नुकर क्लबमा क्लबका सञ्चालक श्याम तामाङ र नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला छकडोल बस्ने दिपेश तामाङ, रामकुमार श्रेष्ठ र शुक्र तामाङका बीचमा सामान्य विवाद भएकोमा सञ्चालक श्याम तामाङको बोलावटमा कर्मा घले, कर्मा गुरुङ र कान्छा बबालीलाई बोलाई दिपेश तामाङ, रामकुमार श्रेष्ठ र शुक्र तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । यसरी घाइते बनाइएकाहरूको उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएकोमा गम्भीर चोट भएको हुँदा दिपेश तामाङ र रामकुमार श्रेष्ठलाई ट्रमा सेन्टर (वीर अस्पताल) पठाइएकोमा त्यहाँ समेत उपचार हुन नसकी त्यहाँबाट समेत महाराजगञ्जस्थित टिचिङ अस्पताल रिफर गरी टिचिङ अस्पतालको भास्कुलर सर्जरी डिपार्टमेन्टबाट उपचार भएको थियो ।
सोही घटनालाई लिएर घाइतेका आफन्तहरूले स्नुकर क्लब सञ्चालक श्याम तामाङ कर्मा घले, कर्मा गुरुङ र कान्छा बबालीको विरुद्धमा प्रहरी वृत स्वयम्भूमा जाहेरी दरखास्त दिन जाँदा जाहेरी दरखास्त प्रहरीबाट श्याम तामाङलाई अभियुक्तबाट हटाई जाहेरी दरखास्त ल्याउनु भनेकोमा पछि कसैको विरुद्धमा जाहेरी समेत नलिई फिर्ता पठाइएको थियो । शान्तिसुरक्षालाई चुनौती दिने समाजमा भएका यस्ता गम्भीर आपराधिक घटनामा प्रहरी आफैंले प्रतिवेदन उठाई शान्तिशुरक्षा र अमनचयन कायम राख्नुपर्ने र पाउने कानुनी व्यवस्था हुँदाहुँदै जाहेरी दरखास्त लिन आनाकानी गरी यदि जाहेरी दरखास्त परेमा समेत व्यक्तिविशेषलाई उन्मुक्ति दिलाउने र अनुसन्धानमा नै छिर्नबाट बचाउने उद्देश्यका साथ व्यक्तिविशेष वा कर्मा स्नुकर क्लबमा सञ्चालकलाई मात्र प्रहरी आफैँले प्रतिवेदन उठाई सानो सजाय हुने अभद्र व्यवहारमा मुद्दा चलाइएको बुझिएको छ । घटनामा संलग्न अन्य व्यक्ति कर्मा घले, कर्मा गुरुङ र कान्छा बबालीको हकमा ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त नलिई शान्तिसुरक्षालाई चुनौती दिने गरी पैैसामा मोलमोलाई भई घटनालाई ढाकछोप गर्ने कार्य प्रहरीकै सामुन्ने भएकोे छ । उक्त घटनाका आरोपी कर्मा घले र कर्मा गुरुङ यसभन्दा अघि पनि कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको बुझिएको छ । मनाङ स्थायी घर भएका कर्मा घले, कर्मा गुरुङलाई जोगाउन पूर्वमन्त्री टेकप्रसाद गुरुङको समेत सक्रियतामा प्रहरी कार्यालयसम्म पुगिसकेको शान्तिसुरक्षाजस्तो गम्भीर अपराधको घटनामा राजधानीमा नै शान्तिसुरक्षालाई चुनौती दिने गरी आर्थिक प्रलोभनमा गम्भीर घटनालाई दबाउने कार्य भएको छ ।
देशव्यापीरूपमा अनगिन्ती यस्ता प्रकृतिका कयौँ घटनाहरू दबिएको सहजै अनुमान गर्न सकिन्छ । साथै प्रहरी तथा वकिलबीच मिलेमतोमा सरकारी मुद्दामा दलाली भई अदालतसमक्ष मुद्दामा प्रतिवादीको तर्फबाट वकिल नियुक्त भई मुद्दाको पुर्पक्ष गर्ने परिपाटी सुनिएको त सर्वविदितै छ । यस्ता घटनाले समाजमा र शान्तिसुरक्षालाई नै चुनौती दिइरहेको छ । ठूला–ठूला माछा पक्रिएको दाबी गर्ने गृह मन्त्रालयले आफैँ मातहतको गृह प्रशासनको सामुन्ने भएको शान्तिसुरक्षा कायम राख्न चुनौती पैदा हुने र दोषीले उन्मुक्ति हुनेगरी भएका यस्ता घटना बन्द हुनुपर्दछ । यस्ता घटनामा कसको संलग्नता रहे/भएको छ सोलाई खोजबिन अनुसन्धान गरी समाजमा दिगो शान्तिसुरक्षा कायम गर्न गृह मन्त्रालयले दृष्टि पु-याउन नितान्त आवश्यक छ ।