काठमाडौं । बुधबार बस्ने संसद बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गर्ने तयारी गरेको छ। विमानस्थलबाट बाहिरिँएको झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।
संसद बैठक दिउँसो १ बजे बस्ने बस्दैछ । यसैको तयारीका लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन्। हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने ।
सोमबार राति कम्बोडियाबाट फर्किने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए। एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।