हेटौंडा । विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघरहरु सञ्चालनमा ल्याउन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकमा उहाँले यस्तो निर्देशन दिएका छन् ।
कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिएका छन् ।
बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
प्रदेश सरकारले बागमती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा हुने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् ।
विसं २०७९ को बाढीको तथ्याङ्कअनुसार यसको प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । यसमा साउनमा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको थियो । यहाँका १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।