काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभाको बिहीबारको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए ।
राष्ट्रियसभामा एमाले संसदीय दलका नेता दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने होइन ? भनी प्रश्न गरे । उनले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भने ।
विमानस्थल भन्सार प्रमुख र विमानस्थलका सुरक्षा प्रमुख विमानस्थलबाट अवैध सुन बाहिरिएको दिन बिदामा बसेको पाइएको उल्लेख गर्दै उनले विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेर सेटिङमा लागेको हुनसक्ने दाबी गरे । उनले भने, “नेपाल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको छ ।”
सांसद दाहालले मिटर व्याजसम्बन्धी विधेयकलाई पारित गर्नका लागि मात्रै आजको सदन सञ्चालन गर्न भनिएको उल्लेख गर्दै अन्य प्रक्रिया अगाडि नबढाउन माग गरे । एमालेको आग्रह पछि अध्यक्ष तिमिल्सिनाले शून्य समयमा सदस्यहरुले बोल्ने कार्यसूचीलाई हटाएको जानकारी गराएका थिए ।