ढाका (रासस/सिन्ह्वा) : बंगलादेशको राजधानी ढाकामा सरकारविरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौँ समर्थकलाई पक्राउ गरेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलले बिहीबार जनाएको छ ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का प्रवक्ता जहिर उद्दिन स्वपनले एएफपीसँग भने, ‘प्रहरीले बुधबारदेखि हाम्रा कम्तीमा पाँच सय ३८ जनालाई पक्राउ गरेको छ ।’
ढाका नगर प्रहरीका प्रवक्ता फारुक अहमदले अधिकारीहरूले बुधबारदेखि अहिलेसम्म तीन सय ६६ जनालाई हिरासतमा लिएको तर उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कुनै टिप्पणी नगरेको बताए । ढाका प्रहरीका डेपुटी कमिस्नर हयातुल इस्लाम खानले राजधानीको एक होटलमा बीएनपीका केही समर्थकलाई पक्राउ गरिएको बताए ।
स्थानीय दैनिक प्रोथोम आलोले प्रहरी स्रोतलाई उद्धृत गर्दै बीएनपीका तीन सय ६६ समर्थकसहित चार सय ११ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र जनवरीमा हुने निर्वाचन तटस्थ कामचलाउ सरकारको नेतृत्वमा हुनुपर्ने माग गर्दै बीएनपी र दर्जनौँ साना सहयोगीले बंगलादेशभर विरोध प्रदर्शनको आह्वान गरेका छन् ।