काठमाडौं । शुक्रबार प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका छन् । उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए ।
सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ ।
समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातन्त्रमाथि आजपनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पारे । भेटमा समाजका निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव डा. वासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायत पदाधिकारी एवम् सदस्यको सहभागीता थियो ।