काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग गरेको छ । निर्माण व्यवसायीहरू र उनीहरूको उपकरणहरूको सुरक्षालाई लिएर पटकपटक सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आए पनि कुनै सुनुवाई नभएको महासंघको गुनासो छ ।
राज्यका निकायले सैद्धान्तिकरूपमा निर्माण व्यवसायीसहित निर्माण उपकरणको सुरक्षाको जिम्मेवारी लिने आश्वासन दिए पनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको महासंघको भनाइ छ । रुपन्देही जिल्लाको बुटवलमा कालीगण्डकी निर्माण सेवाका सञ्चालक इन्जिनियर निर्मल खत्रीमाथि ढुंगामुढा प्रहार गर्दै खुकुरी समेत प्रहार गरी सख्त घाइते बनाइएको महासंघले जनाएको छ । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले उल्लेख गरेको छ । निर्माणाधीन कालिका पथ सडक भत्किएको विषयमा उग्र युवाहरूको समूहले आक्रमण गर्दा घाइते भएका व्यवसायी खत्रीको ढाड तथा टाउकोमा चोट लाग्दा ६० वटा टाँका लगाइएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई कानुनअनुसार कारबाही गर्न माग गर्दै महासंघले घाइते निर्माण व्यवसायी खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अब पनि निर्माण व्यवसायीमाथिको आक्रमण नरोकिए महासंघ देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।