काठमाडौं । सोमबार बोलाइएको प्रतिनिधिसभाकोे बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसद् सचिवालयमा महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा विशेष कारण बैठक बस्न नसक्ने भएकाले सारिएको जनाइएको छ । महासचिव गौतमका अनुसार प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । एमालेले लगातार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ । माग पूरा नभए बैठक चल्न नदिने अडान एमालेले लिँदै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा राजस्व अनुसन्धान विभागले स्कुटरको ‘ब्रेक सु’मा प्याक गरिएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण एक क्विन्टल रहेको बताइएको छ । विमानस्थलबाट बरामद तस्करीको सुन हालसम्मकै ठूलो परिमाण भएको बताइएको छ ।
सुन तस्करी प्रकरणमा चीन, नेपाल र भारतका तस्कर समूह संलग्न रहेको अनुमान गरिएको छ भने संलग्न केही व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरिसकेको छ । संसद्मा प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै साउन १० को प्रतिनिधिसभा बैठक कारबाही अवरुद्ध गरेको थियो । साउन १० मा संसद् बैठक अवरुद्ध भएपछि सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो ।