काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही साउन २३ गतेबाट हाल कायम रहेको जारी पुँजी चार अर्ब रुपैयाँमध्येबाट ३० प्रतिशतको अनुपातमा एक अर्ब २० करोड रुपैयाँ बराबरको साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडमार्फत एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ५७ रुपैयाँमा एक करोड २० लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । सर्वसाधारणको लागि छुट्याएको कुल साधारण सेयरमध्येमा कम्पनीले १० प्रतिशत अर्थात् १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि पाँच प्रतिशत अर्थात् छ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि बिक्री गरी बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्री आह्वान गरेको हो । कम्पनीका अनुसार साधारण सेयरको बिक्री कार्य छिटोमा यही साउन २६ गते र ढिलोमा यही भदौ पाँच गते बन्द हुने बताइएको छ ।