काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि नेपाल आयल निगमले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा नौ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर सात रुपैयाँ मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण मूल्य बढाइएको आयल निगमले जनाएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेको छ । सोही कारण भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालमाा पनि मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय ३० रुपैयाँले घटेको हो ।