काठमाडौं । सदनमा देखिएको अवरोध हटाउन सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । मुख्य सचेतक हितराज पाण्डेले सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको जानकारी दिए ।
मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले राखेको बैठकमा सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गरे । सोमबारको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उनले बताए ।
बैठकमा मुख्य सचेतक पाण्डेले प्रतिनिधिसभाको गतिविधि र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधिबारे जानकारी गराएका थिए । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिएका थिए ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय शिक्षा, सङ्घीय निजमती र सङ्घीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको र ती विधेयक तत्काल सदनमा दर्ता गर्न लागिपरेको बताए । उनले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पारेका थिए ।