काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन सोमबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।
बैठकमा सदनको अवरोध खोल्न सभामुख घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई पुनः आग्रह गर्ने उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बस्दै छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतकलाई बोलाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ । दुवै सदनको बैठक सोमबार दिउँसो १ बजे बस्ने तय गरिएकाले सो अगाडि सहमतिको पहल गर्न लागिएको हो ।