काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच सम्झौता भएको छ ।
बुधबार भएको मर्चेन्ट सम्झौताअन्तर्गत बैंकसँग आबद्ध ग्राहकले पोखरा लेकसाइडस्थित चिल्ली बार एन्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सुविधाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कामना सेवाको वित्तीय साक्षरता
कामना सेवा विकास बैंकले बुधबार ललितपुरस्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरूलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, ग्वार्को शाखाका प्रमुख प्रार्थना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडीलगायत अन्य कर्मचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृति बोताजु र अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।