वाणिज्य बैंकहरूमा खराब कर्जा (निष्क्रिय कर्जा)को अनुपात बढेको छ । बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सबै बैंकहरूको खराब कर्जा बढेको छ । विवरणअनुसार बैंकहरूको खराब कर्जा समग्रमा एक सय २२ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९मा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा एक दशमलव २६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा दुई दशमलव ७९ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७९/८०को सुरुमै अर्थतन्त्रमा देखिएको मन्दीले बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहमा परेको असर र ब्याजदर बढ्दा ऋणीहरूको साँवा तिर्नसक्ने क्षमतामा कमी आउँदा बैंकहरूको खराब कर्जा बढेको हो । वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये मर्जरमा गएका बैंकहरूको खराब कर्जा धेरै बढेको देखिन्छ । सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको देखिएको छ । कुमारी बैंकमा एनसीसी बैंक मर्ज भएको थियो । अघिल्लो आर्थिक वर्षमा एक दशमलव ११ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर चार दशमलव ७७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेका कारण प्रोभिजनबापतको रकम बढ्दा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ ।
सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको देखिएको छ । एभरेष्टको खराब कर्जा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्षमा शून्य दशमलव १६ प्रतिशत रहेको एभरेष्टको खराब कर्जा गत आर्थिक वर्षमा शून्य दशमलव ७९ प्रतिशत पुगेको छ ।हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र प्रभु बैंकको खराब कर्जा पनि चार प्रतिशतभन्दा धेरै छ । वित्तीय विवरणअनुसार हिमालयन बैंकको चार दशमलव ५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको चार दशमलव ३५ प्रतिशत, प्राइम कमर्सियलको चार दशमलव २३ प्रतिशत र प्रभु बैंकको चार दशमलव १६ प्रतिशत कर्जा खराब छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको खराब कर्जा क्रमशः एक दशमलव ५९ प्रतिशत, एक दशमलव ४९ प्रतिशत, एक दशमलव ७७ प्रतिशत र एक दशमलव ८६ प्रतिशत थियो ।
यसैगरी नबिल बैंकको खराब कर्जा तीन दशमलव २० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा नबिलको खराब कर्जा एक दशमलव ६२ प्रतिशत थियो । नबिलपछि धेरै खराब कर्जा हुने बैंक सिटिजन्स बैंक इन्टरनेसनल छ । यो बैंकको खराब कर्जा तीन दशमलव १९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा सिटिजन्सको खराब कर्जा दुई दशमलव २२ प्रतिशत थियो । बैंक अफ काठमाडौंलाई गाभेको ग्लोबल आईएमई बैंकको खराब कर्जा एक दशमलव २८ प्रतिशतबाट बढेर तीन दशमलव शून्य ८ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज र एनएमबी बैंकको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ९५ प्रतिशत, दुई दशमलव ८५ प्रतिशत, दुई दशमलव ८१ प्रतिशत र दुई दशमलव ७२ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव शून्य ९ प्रतिशत, एक दशमलव ८३ प्रतिशत, शून्य दशमलव ९ प्रतिशत र एक दशमलव ४५ प्रतिशत थियो । दुई प्रतिशतमाथि निष्क्रिय कर्जा हुने बैंकहरूमा कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ«े बैंक र सिद्धार्थ बैंक पनि छन् । यी बैंकहरूको खराब कर्जा क्रमशः दुई दशमलव ४८ प्रतिशत, दुई दशमलव ४३ प्रतिशत, दुई दशमलव १२ प्रतिशत र दुई दशमलव शून्य एक प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा क्रमशः दुई दशमलव शून्य ९ प्रतिशत, शून्य दशमलव १५ प्रतिशत, एक दशमलव शून्य ४ प्रतिशत र एक दशमलव शून्य ७ प्रतिशत थियो ।
सानिमा बैंक र स्टान्डर्ड चार्टर्डको खराब कर्जा एक प्रतिशतभन्दा बढी छ । वित्तीय विवरणअनुसार सानिमा बैंकको खराब कर्जा शून्य दशमलव ३३ प्रतिशतबाट बढेर एक दशमलव ३ प्रतिशत पुगेको छ ।स्टान्डर्ड चार्टर्डको शून्य दशमलव ५९ बाट बढेर एक दशमलव १७ प्रतिशत पुगेको छ । एनआईसी एसिया र एभरेष्ट बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम छ । एनआईसी एसियाको खराब कर्जा अघिल्लो आर्थिक वर्षमा शून्य दशमलव ५३ प्रतिशत रहेकामा गत आर्थिक वर्ष शून्य दशमलव ८ प्रतिशत कायम भएको छ ।
कोभिड–१९ पछि आयात अत्यधिक बढ्दा विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि सरकारले केही वस्तुको आयात रोकेको थियो । यही कारण आन्तरिक अर्थतन्त्र प्रभावित भई आर्थिक क्रियाकलाप खुम्चिएकाले पनि बैंकहरूको खराब कर्जा बढेको विश्लेषण गरिएको छ ।उद्योगी व्यापारीले उत्पादन कटौती गर्नुपर्ने र उधारो नउठ्ने समस्याका कारण समयमै कर्जा भुक्तानी गर्न नसक्दा पनि निष्क्रिय कर्जा बढेको हो । लगानीयोग्य रकमको अभावले गर्दा नयाँ ऋण प्रवाह नभएको र आर्थिक क्रियाकलाप घट्दा पुरानो नउठने समस्याले पनि निष्क्रिय कर्जाको तथ्यांक बढेको देखिन्छ ।