काठमाडौँ, वैशाख १८
कोरोना भाइरस (कोभिड १९)को सन्त्रासकै बेला वागमती प्रदेश भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी सञ्चालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरूले गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘विषम् परिस्थितिमा सहकारीको भूमिका’ विषयक भिडियो कन्फ्रेन्समा बोल्दै काठमाडौँ उपत्यकाका सहकारी अगुवाहरूले मन्त्रालयको परिपत्रअनुसार तत्काल सहकारले सेवा दिन कठिन भएको बताएका हुन् ।
वागमती प्रदेश सरकारले सहकारीको कार्यालय खोली दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिए पनि हिँडडुल गर्न समस्या भएको, सुरक्षा विधि, उपाय तथा सामाजिक दूरी कायम गर्न समस्या हुने उनीहरूको भनाइ छ । कर्मचारी समेत भ्यालीबाहिर रहेकाले सेवा दिन र सदस्यले कार्यालयमा आएर सेवा लिन कठिन भएको उनीहरूको भनाइ छ । बैशाख ११ गते वागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना प्रकाशन गरी बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन सहकारीलाइ निर्देशन दिएको थियो ।
लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट जोगाउन वागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्था खोल्न भनी निर्देशन दिएको थियो । त्यसैगरी २०७६ चैत्र १६ गते सहकारी विभागले सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई सदस्यहरूलाई सम्पूर्ण सेवा दिन निर्देशन जारी गरेको थियो । परिपत्रपछि १५ गते सोमबार उपत्यकका सहकारी अगुवाहरूले संयुक्त बैठक बसी अपिल जारी गरी प्रदेश सरकारले तोकेबमोजिम सेवा दिन नसक्ने बताएका थिए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले एकदुई दिनभित्रै पासको हुने, त्यसका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको जानकारी दिए । नेपाल सरकारले सहकारीलाई अत्यावश्यक सेवाभित्र पर्छ भनेर परिपत्र जारी गरिदिएको भए अझ हुने भए पनि सहकारीलाई छुट्याएर परिपत्र जारी गरेकोले अन्यौलता छाएको बताए । जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले लकडाउन सुरु भएपछि सहकारीका अभिभावकहरूको प्रस्ट निर्देशन नआएकोले सहकारीमा अन्यौलता छाएकोले के गर्ने कसो गर्ने भएको बताए ।
सरकारको निर्देशनले सहकारीको सेवा अत्यावश्यकभित्र परो कि परेन भन्ने अन्यौलता भएको बताए । उनले अन्यौलताका बीचमा पनि स्वविवेकले सहकारीहरूले सेवा दिएको, सदस्यका घरघरमा पैसा पु-याएको, सदस्यको खातामा पैशा नभए पनि ऋण दिएर गर्जो टार्ने, स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने, कोरोना संक्रमणबाट बच्ने जनचेतना फैलाउनेलगायतका काम गरेको बताए ।
भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले स्थानीय प्रशाशनले सहयोग नगरेको अवस्थामा पनि सहकारीहरूले कार्यालय खोलेर र नखोलेरै पनि सेवा दिने गरेको बताए । जिल्ला संघले वार्षिक २० लाखको मल बेच्ने गरेको र अहिले मल संघमा थन्किएकोले किसानकोमा मल पु-याउन प्रशासनले मुश्किलले मात्र सहजीकरण गरेको बताए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले सदस्यले सहकारीबाट वित्तीय सेवा मात्र लिने संस्थाका रूपमा नहेर्न आग्रह गरिन् । उनले सदस्यहरूलाई सहकारीले दिएका अन्य सेवाको पनि गुण बिर्सन नहुने बताइन् ।