काठमाडौ । नेपाल राष्ट्र बैंकले आठ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार साउन २८ गते आइतबार (आज) अपराह्न ३ बजेसम्ममा बोलकबोलमार्फत बिक्री खुलाएको हो । ‘विकास ऋणपत्र २०८८’ नाम दिइएको यो ऋणपत्र चालू आर्थिक वर्ष सुरु भएपछिको दोस्रो हो । यसअघि यही साउन १८ गते राष्ट्र बैंकले छ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरेको थियो ।
सरकारका लागि ऋण उठाउन जारी गरिएको ऋणपत्रको निष्काशन साउन २८ गते हुने र २०८८ साउन २९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएकोे छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर ऋणपत्र किन्न सक्नेछन् । निष्काशन गर्न लागिएको ऋणपत्रको कुल रकमबाट प्रतिस्पर्धी बोलवालाहरूलाई ८५ प्रतिशत र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई १५ प्रतिशत छुट्याइएको छ । यस आधारमा प्रतिस्पर्धीले आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीले एक अर्ब ५० करोड रुपैयाँ खरिद गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमसम्म ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन पाइनेछ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष सरकारको लागि कुल दुुई खर्ब ४० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरूप आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरू, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्ने तयारी गरेको छ । यसरी बिक्री गरिने कुल मौद्रिक उपकरणमध्येमा ७४ दशमलव छ प्रतिशत हिस्सा ऋणपत्रको छ । कुल एक खर्ब ७९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री हुनेछ । जसमध्ये पहिलो त्रैमासमा ५० अर्ब, दोस्रो त्रैमासमा ४५ अर्ब, तेस्रो त्रैमासमा ३५ अर्ब र चौथो त्रैमासमा ४९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।