काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीनवटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स दिएको छ । साउन २४ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले अनुमति मागेका थप तीनवटा कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिएको हो ।
बोडका अनुसार लाइसेन्स पाउने कम्पनीमा जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनी छन् । यी तीनवटै कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।
पहिलो चरणमा लाइसेन्स पाएका ब्रोकर कम्पनीहरूले दोस्रो बजारमा कारोबार सुचारु गरिसकेका छन् । पहिलो चरणमा हिमालयन ब्रोकरेज, क्यापिटल म्याक्स, भोले गणेश सेक्युरिटिज, सन सेक्युरिटिज, सेयरप्रो, मियो र प्रोपर्टी विजार्ड छन् ।
यस्तै दोस्रो चरणमा लाइसेन्स पाउनेहरूमा मिल्की वे सेयर ब्रोकर, क्यापिटल हब, आकाश भैरव, पाही इन्भेस्टमेन्ट, एस्पी बी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक एक्स काट्र्स, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिजले कारोबार लाइसेन्स पाएका थिए । दोस्रो चरणमा लाइसेन्स पाएकाहरू दोस्रो बजारमा कारोबारका लागि प्रक्रियामा छन् । अहिलेसम्म बोर्डबाट आशयपत्र पाएका २१ वटा नयाँ ब्रोकर कम्पनीले कारोबार गर्ने लाइसेन्स पाएका छन् ।