काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि विभिन्न संस्थासँग सम्झौता गरेको छ । स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थासँग छलफल गरिएको बैंकले जनाएको छ ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकले वीरगञ्जमा अवस्थित मंगलम् डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटल क्विक २० र रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, हेटौडा मकवानपुरमा अवस्थित रिगल हेटौडा रिर्सोटका सेवामा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित निर्सग हस्पिटल प्रालिका सेवामा अधिकतम २० प्रतिशत, हेटांैडा मकवानपुरमा अवस्थित बिसुधा मोमोचाका सेवामा १० प्रतिशत र भरतपुर चितवनमा अवस्थित कविलास रिर्सोट एन्ड फन पार्कका सेवामा १० प्रतिशतको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बंैकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।