काठमाडौं । मिड सोलु हाइड्रोपावरले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको सेयरको म्याद साउन ३० गतेसम्म थप गरेको हो ।
मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको आवेदन दिने समय भने आइतबार सकिएको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् सात करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका सात लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो । सोमध्ये पाँच लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई बाँडफाँट गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि बाँडफाँट गरिने बताइएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बताइएको छ ।