काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री (आईपीओ) आह्वान गरेको छ । कम्पनीले यही भदौ पाँच गतेबाट एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रियिमम थप गरी एक सय १६ रुपैयाँ अंकित मूल्यमा सात लाख १२ हजार दुई सय २० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार सात सय रुपैयाँ रहेको छ । जसबाट १५ प्रतिशतको अनुपातमा आठ करोड ५८ लाख नौ हजार सात सय रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी एक सय १६ रुपैयाँमा आठ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार आठ सय १० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाको लागि, पाँच प्रतिशत अर्थात् ४२ हजार नौ सय पाँच कित्ता सामूहिक लगानी कोषको लागि र दुई प्रतिशत अर्थात् १७ हजार एक सय ६२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि बिक्री गरी बाँकी रहेको सात लाख १२ हजार दुई सय २० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
सेयर निष्काशन एवम् बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ आठ गते र ढिलोमा यही भदौ १९ गते बन्द हुने छ । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।