दोलखा । २०७६ साल मंसिर १९ गते दोलखाको मेलुङ गाउँपालिका–४ का कुमार लामालगायतका व्यक्तिसँग सार्वजनिक मुद्दामा घुस लिएको आरोप लागेका उपसचिव एवम् तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले मंगलबार रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखामा प्रमुख जिल्ला अधिकारी रहेको बेलामा रिजालले सेवाग्राहीसँग धम्क्याएर पैसा असुलेको आरोप छ । २०७६ साल मंसिर १९ गते सेवाग्राहीसँग घुस लिएर फिर्ता गरेपछि रिजालले सेवाग्राहीबाट घुस लिने गरेको खुलेको थियो । अख्तियारले रिजाललाई २०७६ माघ २० मा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दायर गरेको थियो । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा र नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा एक गरी पाँचवटा मुद्दा दायर भएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, चार लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । महिलासम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर रिजालले सेवाग्राही कुमार लामासँग एक लाख माग गरी ९० हजार रुपैयाँ भने घुस लिएका थिए ।
यस्तै, उनले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता समेत लिएका थिए । उनले लिएको ७७ हजार छ सय रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता समेत बुझ्ने गरेको खुलेपछि अख्तियारमा उजुरी परेको थियो ।