काठमाडौँ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको बुधबार पुनः शल्यक्रिया गरिने भएको छ । उनको बुधबार कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा. डा. शङ्कर राईले जानकारी दिए । उनको शल्यक्रिया पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै गर्न लागिएको अस्पतालले जनाएको छ ।
नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम फिर्ता गर्ने घोषणा गरेकाले उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौल आफ्नै खर्चमा डा. भण्डारीको शल्यक्रिया गर्न आएको अस्पतालका प्रमुख डा राईले बताएका छन् । डा. स्प्रौलसँगै प्रा. डा. बिडी झा, प्रा. डा. शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. प्रविन गिरी, डा. निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले डा. भण्डारीको शल्यक्रिया गर्नेछन् ।
परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. स्प्रौललाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको डा. भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।