देउखुरी (दाङ) । बुधबार प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छिन् । उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् ।
मन्त्री शर्माले भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिइन् । “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उनले भनिन् ।
यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै मन्त्री शर्माले सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । “भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उनले भनिन्,
अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको मन्त्री शर्माले बताइन् । सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उनले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गरिन् ।
घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उनले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताइन् । मन्त्री शर्माका अनुसार उक्त सडक मर्मतको लागि काम अगाडि बढेको छ । नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उनको भनाइ थियो ।