काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने चिनियाँ नागरिकमा डिङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टियान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइनेछ ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको पनि कडायतले बताए ।