काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर सेयरधितो कर्जामा देखिएको छ । अर्थतन्त्रमा आएको मन्दी एवं नेपाल राष्ट्र बैंकले सेयर कर्जा अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा गरेको कडाइका कारण पछिल्लो एक वर्षमा सेयर धितो कर्जा घटेको हो ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा एकल तथा समूहगत कर्जा शीर्षकमा चारदेखि १२ करोडको सीमा लगाएको थियो भने गतवर्ष त्यसमा परिमार्जन गर्दै एकल वा समूहगत जुनरुपमा कर्जा लिएपनि सेयर धितो शीर्षकमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । सोही व्यवस्थाका कारण पनि पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जाको आँकडा घटेको हो । राष्ट्र बैंकको नीतिकै कारण सेयरबजार उकालो लाग्न नसकेको आरोप लागिरहेका बेला सेयर धितोमा प्रवाह भएको कर्जा रकम घटेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८०मा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो शीर्षकमा ७४ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब ८९ करोड रुपैयाँले कम हो । अघिल्लो अर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो शीर्षकमा मात्र कुल ८७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसारआर्थिक वर्ष २०७९/८०को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५५ खर्ब ६८ अर्ब ६० करोड १० लाख र ४८ खर्ब ५५ अर्ब ४२ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको यस्तो निक्षेप तथा कर्जा क्रमशः ४९ खर्ब ८६ अर्ब ९० करोड ६० लाख र ४७ खर्ब ४४ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७९/०८० को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र भने सेयर धितो शीर्षकमा ५७ अर्ब ५३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ अर्ब १७ करोड ८० लाख रुपैयाँले कम हो । उक्त अवधिमा वाणिज्य बैंकहरूले सेयर धितो शीर्षकमा ५७ अर्ब ५३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४४ खर्ब दुई अर्ब ३० करोड ५० लाख र ४२ खर्ब पाँच अर्ब ७७ करोड ६० लाख रुपैयाँ छ । गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४९ खर्ब १० अर्ब ४३ करोड ४० लाख र ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा विकास बैंकहरूमा भने सेयर धितो शीर्षकको कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले चार खर्ब ८४ अर्ब ९४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ४७ अर्ब २७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा सेयर धितो शीर्षकमा मात्र ११ अर्ब ८७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । आर्थिक वर्ष २०७९/८० जेठ मसान्तमा भने विकास बैंकहरूको यस्तो कर्जा एक अर्ब ६६ करोड ६० लाख रुपैयाँले बढेको छ । यस अवधिमा विकास बैंकहरूले पाँच खर्ब ४९ अर्ब ४१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शीर्षकमा मात्र १३ अर्ब ५४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरूले भने आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा सेयर धितो शीर्षकमा तीन अर्ब ६१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको फाइनान्स कम्पनीहरूले सेयर धितो शीर्षकमा चार अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९९ अर्ब ६५ करोड ५० लाख र ९१ अर्ब ८० करोड ६० लाख रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्ममा भने फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः एक खर्ब आठ अर्ब ७५ करोड ३० लाख र ९२ अर्ब ३३ करोड १० लाख रुपैयाँ थियो ।