काठमाडौं । निर्माण व्यवसायीहरूले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको निर्देशनअनुसार उनीहरूले बुधबार सातै प्रदेश निर्माण व्यवसायी महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघले आ–आफ्नो कार्यालयमा महासंघको नौ बुँदे मागसहितको ब्यानर प्रदर्शन गरेका छन् ।
सरकारले छलफलका लागि औपचारिक पत्राचार गरेपछि महासंघले सडक धर्नाका कार्यक्रम तत्कालका लागि स्थगित गरी सांकेतिक विरोध प्रदर्शन सुरु गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । सरकारी वार्ता टोलीसँगको छलफल अवधिभर सांकेतिक विरोध प्रदर्शनीलाई निरन्तरता दिइने महासंघले जनाएको छ । यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा गठित कार्यदलसँग महासंघका मागहरूका विषयमा छलफल गर्न महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलका सदस्यमा महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल र कार्यसमिति सदस्य उत्तम भट्ट छन् । महासंघले आफ्नो आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्ने प्रमुख दलका नेताहरू, निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संघ संस्थासहित आन्दोलनको समाचारलाई प्राथमिकताका साथ स्थान दिने सबै सञ्चार माध्यमलाई विज्ञप्तिमार्फत् धन्यवाद दिएको छ । अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका ९ बुँदे माग राखी महासंघ साउन १४ गतेदेखि आन्दोलनरत छ ।