काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन लहान सिरहाका लेखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक डिभिजनका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक निर्माणकार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले उनलाई असार २६ गते पक्राउ गरेको थियो ।
अख्तियारको टोलीले लेखा अधिकृत पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेर असार २६ गतेदेखि हिरासतमा राखी बयान लिएको थियो । बयानको क्रममा उनले सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पक्राउ परेका पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिबाना सजायसमेत हुन मागदाबी लिइएको छ ।