काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले साउन ३२ गते बेसको उद्घाटन गरेका हुन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्वारका आवश्यक सामग्रीसहितको टोली खटिएको छ ।
काठमाडौंदेखि करिब दुई सय १० किलोमिटर बर्दिबाससम्मको सिन्धुली बीपी हाइवेमा हुन सक्ने अन्य घटनाको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापना बेस स्थापना भएको हो ।
सशस्त्रले यसअघि मूलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी सात ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ ।