वेइजिड., वैशाख १८
कोरोना भाइरसले आक्रान्त चीनको अर्थतन्त्र दशकयताकै खराब स्थितिबाट गुज्रिएको छ । भाइरसको उद्गम वुहानबाट भएसँग आर्थिक क्रियाकलाप ठप्पा हुँदा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिन पुगेको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइने चिनियाँ अर्थतन्त्रको त्रैमासिक तथ्यांक रेकर्ड राख्न सन् १९९२ पछि सुरु भएको थियो । गत वर्ष पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.४ प्रतिशत वृद्धिदरको स्थितिमा थियो ।
सोही बखत चीन अमेरिकासँग व्यापार युद्धको सामना समेत गरिरहेको थियो । बितेका दुई दशकमा चीन औसत ९ प्रतिशत वृद्धिदरको हाराहारीमा थियो । तर विश्लेषकहरुले भने चिनियाँ वृद्धिदरको तथ्यांकमा शंका गर्दै आएका थिए । तर जनवरीको अन्त्यतिर चीनले लामो लकडाउन र क्वारेन्टाइन घोषणा गरेको थियो । जुन अर्थतन्त्रको लागि पूर्णविरामजस्तै हुनपुग्यो । परिणामतः आधिकारिक तथ्यांक पनि खराब आउन थाले ।
मार्च महिनामा चीनले १.१ प्रतिशत कारखानाजन्य उत्पादन वृद्धिदर भएको तथ्यांक निकालेको थियो । तर गत महिना खुद्रा बिक्रीदर भने १५.८ प्रतिशतले ओरालो लागेको छ । जतिबेला मानिसहरु घरभित्रै बस्ने बाध्यता भयो । मार्चमा चीनको बेरोजगारी दर ५.९ प्रतिशतले बढे पनि फेब्रुअरीको ६.२ प्रतिशतको तुलनामा राम्रै मानिएको छ । यसबीचमा चीनले वित्तीय सुधारका लागि थुप्रै सकारात्मक कदम भने चालेको छ ।