काठमाडौं । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र ट्र्याकमा आएकोे छ । करिब दुई वर्ष दबाबमा रहेको बाह्य क्षेत्र आयात नियन्त्रण र बढ्दो रेमिट्यान्सका कारण सुधार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार कुनै समय धराशायी बन्ने स्थितिमा पुगेका अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकहरू अहिले ठीकठाक छन् ।
शोधनान्तर स्थिति बचतमा हुनु, रेमिट्यान्समा वृद्धि हुनु, विदेशी विनिमय सञ्चिति बढ्नु र अघिल्लो आर्थिक वर्षको तुलनामा खुद सेवा आयको घाटा कम हुनुले बाह्य क्षेत्रमा केही हदसम्म सुधार भएको मान्न सकिन्छ । तर, वैदेशिक लगानी र सहयोग, निर्यात व्यापारमा वृद्धि नहुँदासम्म अहिले देखिएको बाह्य क्षेत्र स्थायित्व दिगो नहुने अर्थशास्त्रीहरू बताउँछन् ।
अर्कोतर्फ मूल्यवृद्धि नियन्त्रण नहुनु, निजी क्षेत्रमा गएको कर्जा घट्नु, वैदेशिक व्यापार खुम्चिनु, उपभोग घट्नु र सरकारको राजस्वमा संकुचन आउनुले आन्तरिक अर्थतन्त्र अझै दबाबमा रहेको स्पष्ट हुन्छ । वैदेशिक लगानी र सहायतामा पनि संकुचन आएको छ । यसले पनि आन्तरिक अर्थतन्त्र अझै राम्रो नभएको संकेत गर्छ । तर, बाह्य क्षेत्रमा देखिएको सुधारले आन्तरिक अर्थतन्त्रमा देखिएको मन्दी न्यूनीकरणका लागि भने कुनै न कुनै रूपमा सहयोग भने गर्छ । राष्ट्र बैंकले आयात नियन्त्रणका लागि ल्याएका नीतिगत व्यवस्थाहरूमा सुधार गरिसकेकाले अब आन्तरिक बजारमा देखिएको संकुचन पनि हट्ने विश्वास गरिएको छ । तर, बैंकहरू अझै केही समय ब्याजदर घटाउन तयार नदेखिएकाले आन्तरिक अर्थतन्त्रमाथिको दबाब तत्काल हटिहाल्ने देखिँदैन ।
प्रमुख आर्थिक सूचकहरू मूल्यवृद्धि : नेपाल राष्ट्र बैंकले ब्याजदर बढाएर माग पक्ष कमाजोर बनाई मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्न खोजे पनि सफल भएन । गत आर्थिक वर्ष मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत कायम भएको छ । सरकारले सात प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य राखेको थियो । अघिल्लो आर्थिक वर्ष उपभोक्ता मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि १४ दशमलव ४२ प्रतिशत, मरमसलाको १२ दशमलव ५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७० प्रतिशत, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत रहेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १३ दशमलव ५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८ प्रतिशत, स्वास्थ्यको १० दशमलव शून्य १ प्रतिशत, शिक्षाको आठ ७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको आठ ६५ प्रतिशत छ । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति आठ शून्य ८ प्रतिशत थियो । गत आर्थिक वर्ष औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा सात ५५ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ५६ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत छ ।
रेमिट्यान्स : गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार एक वर्षमा १२ खर्ब २० अर्ब ५६ करोड रूपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२ दशमलव एक प्रतिशतले बढेर नौ अर्ब ३३ करोड पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेख्य बढेपछि रेमिट्यान्स आप्रवाहमा सुधार भएको देखिन्छ । गतवर्ष पुनः श्रम स्वीकृति लिनेहरूको संख्या केही घटे पनि नयाँ श्रम स्वीकृति लिनेको संख्या बढेको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भई चार लाख ९७ हजार सात सय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या तीन सय ९२ प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा एक दशमलव आठ प्रतिशतले कमी आई दुई लाख ७७ हजार दुई सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या एक सय ९८ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
चालू खाता एवं शोधनान्तर स्थिति : अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको देखाउने अर्को सूचक हो, शोेधनान्तर स्थिति । गत आर्थिक वर्षमा मुुलुकको शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रूपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गतवर्ष दुई अर्ब २१ करोडले बचतमा छ ।
चालू खाता भने अझै घाटामा छ । राष्ट्र बैंकका अनुसार गतवर्ष चालू खाता ७२ अर्ब १६ करोड रूपैयाँले घाटामा छ । तर, यो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा निकै कम हो । अघिल्लो वर्ष चालू खाता घाटा छ खर्ब २३ अर्ब ३८ करोड रूपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष पाँच अर्ब १७ करोडले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा छ ।
विदेशी विनिमय सञ्चिति : गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चितिमा पनि राम्रो सुधार देखिएको छ । आयात घटेको र रेमिट्यान्स बढेका कारण विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति २६ दशमलव छ प्रतिशतले बढेर २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३ दशमलव एक प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार सञ्चित विदेशी मुद्राले ११ महिना २१ दिनको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ दशमलव एक प्रतिशत रहेका छन् ।
सरकारको ऋण दायित्व : नेपाल सरकारले २०८० असार मसान्तसम्म २२ खर्ब १८ अर्ब ५४ करोड रूपैयाँ ऋण तिर्न बाँकी देखिएको छ । तिर्न बाँकी ऋणमध्ये, बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रूपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रूपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१ दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४० दशमलव सात प्रतिशत थियो ।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब नौ करोड रूपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको दुई दशमलव छ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रूपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
वैदेशिक शिक्षामा एक खर्ब बाहिरियो : गत आर्थिक वर्षमा वैदेशिक शिक्षाका लागि एक खर्ब ४२ करोड रूपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा वैदेशिक शिक्षामा ६७ अर्ब ७० करोड रूपैयाँ बाहिरिएको थियो । भ्रमण व्यय शीर्षकमा मात्रै गत आर्थिक वर्षमा एक खर्ब ४४ अर्ब ४६ करोड रूपैयाँ बाहिरिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ दशमलव चार प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष भ्रमण व्यय शीर्षकमा ९७ अर्ब ३२ करोड रूपैयाँ खर्च भएको थियो । समीक्षा अवधिमा भ्रमण आय ८९ दशमलव छ प्रतिशतले बढेर ६१ अर्ब ५२ करोड पुगेको छ । यस्तो आय अघिल्लो आर्थिक वर्ष ३२ अर्ब ४५ करोड रूपैयाँ थियो ।
सरकारी राजस्व तथा खर्च
बाह्य अर्थतन्त्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा समस्या रहेका कारण सरकारको राजस्व संकलन अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल नौ खर्ब ५७ अर्ब १५ करोड रूपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष सरकरको कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड थियो । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ खर्ब ९६ अर्ब २४ करोड खर्च रहेकामा गत आर्थिक वर्षमा १४ खर्ब २९ अर्ब ५६ करोड रहेको छ ।